काठमाडौं — प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। उनले हालको विपद्बाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढिरहेको बताए।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधनका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
भेटका क्रममा नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने अवसरबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताए।
कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तत्पर रहेको जानकारी गराइन्।