काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन् ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको र तामाङलाई पक्राउ गर्न सोही वृत्तले अनुमति मागेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
प्रहरीले तामाङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट सोमबार एक दिनअघि नै अनुमति लिएको थियो ।
४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए ।