काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चेतना र परिवर्तनको चाहनालाई प्रतिगामी तथा स्वतन्त्रताविरोधी कदमले लामो समय रोक्न नसक्ने बताएका छन्।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले नेपाली जनताको संघर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताए। उनका अनुसार राजनीतिक परिवर्तनको यात्रामा पटक–पटक अवरोध आए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिनु हुँदैन।
‘जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न सकिँदैन,’ ओलीले भने।
उनले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था करिब ३० वर्ष चले पनि जनताको संघर्षले अन्ततः ती व्यवस्था अन्त्य गरेको स्मरण गरे। ज्ञानेन्द्रको प्रत्यक्ष शासनको प्रयास पनि २०६३ वैशाख ११ मै अन्त्य भएको र २०६५ जेठ १५ मा राजतन्त्र समाप्त भएको उल्लेख गर्दै ओलीले इतिहासले नै प्रतिगमन लामो समय टिक्न नसक्ने देखाएको बताए।
अधिकार र स्वतन्त्रताको पक्षमा उठेको आवाज निरन्तर राख्न आग्रह गर्दै उनले समर्थक तथा नागरिकलाई धैर्य गर्न, तर निष्क्रिय भएर नबस्न सुझाव दिए। संघर्षबाट पछि हटे उपलब्धि गुम्न सक्ने भन्दै उनले भने, ‘गिभअप नगर्नुहोस्, ह्यान्ड्सअप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस्।’