नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा दुई नेताबीच व्यापार, ऊर्जा र रक्षा क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ।
पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन्। सम्मेलन शनिबारदेखि सुरु हुँदैछ।
रुस भारतको महत्वपूर्ण रणनीतिक साझेदार तथा प्रमुख सैन्य आपूर्तिकर्तामध्ये एक हो। भेटका क्रममा दुवै नेता हाँस्दै कुराकानी गरेको, एकअर्कालाई पिठ्युँमा धाप मारेको तथा अँगालो हालेको तस्वीर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
अमेरिका–इरान युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटका बीच भारतले रुससँगको ऊर्जा सहकार्यलाई थप महत्व दिएको छ। युक्रेनमा रुसको युद्ध र अमेरिका तथा अन्य पश्चिमी मुलुकको दबाबका बाबजुद भारतले रुसी कच्चा तेल खरिद गर्दै आएको छ।
पुटिन यसअघि सन् २०२५ डिसेम्बरमा भारत भ्रमणमा आएका थिए। त्यसैगरी, यस महिनाको सुरुमा किर्गिस्तानको बिस्केकमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को बैठकमा पनि मोदी र पुटिनबीच भेट भएको थियो। उक्त भेटमा मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गरेका थिए।
मध्यपूर्वमा युद्ध सुरु भएपछि मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए। अमेरिकी प्रतिबन्धमा दिइएको अस्थायी छुटले पनि रुसी तेलको आयात बढाउन सहयोग गरेको थियो।
व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा भारतले रुसबाट दैनिक २७ लाख १० हजार ब्यारेल कच्चा तेल आयात गरेको थियो। जुलाईमा आयात बढेर दैनिक २८ लाख १० हजार ब्यारेल पुगेको थियो। अगस्टमा भने यो घटेर दैनिक २० लाख ७० हजार ब्यारेलमा झरे पनि आयातको मात्रा अझै महत्वपूर्ण रहेको छ।
भारतीय सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५/२६ मा भारत र रुसबीचको वस्तु व्यापार ५९.९ अर्ब अमेरिकी डलर पुगेको थियो। सो अवधिमा भारतले रुसतर्फ ४.४९ अर्ब डलर बराबरका वस्तु निर्यात गरेको थियो भने रुसबाट ५५.३७ अर्ब डलर बराबरको वस्तु आयात गरेको थियो।