गण्डकी – भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव शुक्रबार पोखरामा व्यवस्थापन गरिएको छ ।
पहिचान हुन नसकेका दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका–१६ स्थित वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शव सोही स्थानमा व्यवस्थापन गरिएको थियो । २१ शवको पहिचान भएपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका सबै शवको डीएनए नमूना सङ्कलन गरिएको छ । आफन्तको डीएनएसँग नमूना मेल खाएमा पुनः पहिचान गरी शव आफन्तलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिएको उनले बताए ।
पोखरामा हालसम्म २५ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । बाढीमा बेपत्ता भएका नागरिकको खोजी तथा शव पहिचानका लागि आफन्तको डीएनए नमूना सङ्कलन गर्ने कार्य जारी रहेको छ ।
डीएनए परीक्षणका लागि आवश्यक निवेदन तथा मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने काम जिल्ला प्रहरी कार्यालयबाटै एकीकृत रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न तथा परीक्षण गर्न पर्याप्त स्थान नभएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ।