काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशन बोलाउनुअघि पार्टी सदस्यको आधिकारिक सनाखत अनिवार्य रहेको बताएका छन् । नामावलीका आधारमा मात्रै विशेष महाधिवेशन बोलाउन नमिल्ने र पार्टी सभापतिलाई जानकारी नदिई यस्तो प्रक्रिया अघि बढाउन नसकिने उनको जिकिर छ ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले पार्टी विधानमा विशेष महाधिवेशनको व्यवस्था भए पनि त्यसअघि को सदस्य हो भन्ने आधिकारिक पहिचान हुनुपर्ने बताए । गगन थापाले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि आफूले सदस्यको सनाखत आवश्यक रहेको बताएको उनले स्मरण गरे ।
कांग्रेससम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको देउवाले बताए । सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उनले त्यसबाट पार्टीको पक्षमा आधा जित भइसकेको दाबी गरे ।
‘आधा जितिसक्यौँ । रुख चिन्ह र चारतारे झण्डा नेपाली कांग्रेसले पाउनेछ भन्ने विश्वास छ,’ उनले भने ।
विगतमा पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शासनकालमा समेत अदालतबाट न्याय पाएको उदाहरण दिँदै देउवाले अहिले पनि सर्वोच्चले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे ।