काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयको ब्युरोक्रेसीले उद्योगी–व्यवसायीसँग मिलेर गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । उद्योगमन्त्री गौरी कुमारीले कर्मचारीतन्त्रले आफूलाई काम गर्न नदिएको आरोप लगाएपछि सचिव दुवाडीले कर्मचारी सरकारको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दुवाडीले जनताले अपेक्षा गरेको सेवा प्रवाह कानुनी र प्रशासनिक प्रक्रियाबाटै हुने भएकाले तत्काल सबै परिणाम दिन सम्भव नहुने बताए । कर्मचारीतन्त्रमा कमजोरी र सीमितता भए पनि त्यसलाई आधार बनाएर इमानदार प्रयास नै नभएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ छ ।
‘हामीसँग कमजोरी छन् होला, कुनै किसिमका ल्याप्सेस होलान् । तर त्यसको मतलब हामी कुनै इमानदार प्रयास गर्न सक्दैनौँ या गरिरहेका छैनौँ भन्ने होइन,’ उनले भने ।
सरकारको मार्गदर्शनअनुसार काम गर्न नेपालको ब्युरोक्रेसी सक्षम रहेको दाबी गर्दै उनले आफू वर्तमान सरकारको म्यान्डेटप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । ‘म आफू निराश छैन, उत्साहित छु, मोटिभेटेड छु, प्रतिबद्ध छु,’ उनले भने ।
कानुन संशोधन गर्नुपर्ने अवस्थामा कर्मचारी बाधक नहुने स्पष्ट पार्दै दुवाडीले राज्यको नीतिअनुसार कानुन निर्माण हुने बताए । आफू राज्यको जिम्मेवारीमा रहुञ्जेल कानुन र प्रक्रियाअनुसार काम गर्ने उनको भनाइ छ ।
ग्यास आपूर्ति सहज बनाउन मन्त्रालय र मातहतका निकायले काम गरिरहेको जानकारी दिँदै उनले कानुन अभावकै कारण ग्यास आपूर्तिमा समस्या भएको विषयमा आफूलाई जानकारी नभएको बताए ।