काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ तथा तुच्छ टिप्पणी गर्ने पार्टीका नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै लामिछानेले बाढीमा आफन्त गुमाएका तथा विपद्मा परेका नागरिकको स्वाभाविक आक्रोशमाथि टिप्पणी नगर्न पार्टीका नेता–कार्यकर्तालाई चेतावनी दिए । पीडितमाथि प्रहार गर्ने र उनीहरूको पीडामाथि राजनीति गर्ने कार्य स्वीकार्य नहुने उनले बताए ।
पीडित नागरिक सरकारसँग आश गरेर गुनासो गर्ने भएकाले उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नु गलत भएको उनको भनाइ छ । त्यस्तो गतिविधिमा संलग्न रास्वपाका नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने उनले बताए ।
‘पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन,’ उनले भने ।
बाढीपीडितमाथि साइबर बुलिङ गर्नेहरू पार्टीका समर्थक हुन नसक्ने भन्दै लामिछानेले पीडितको आँसु पुछ्ने कार्यकर्ता आवश्यक रहेको बताए । उनले विपद्का बेला नागरिकको पीडामाथि प्रहार गर्ने प्रवृत्तिविरुद्ध पार्टीले कडा कदम चाल्ने स्पष्ट पारे ।