काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ।
आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजीका विषयमा समेत कुराकानी भएको थियो।
भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तरनिकायीय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) परिचालन गरेकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले कोरियाले उपलब्ध गराएको मानवीय सहायता र राहत सामग्रीका लागि धन्यवादसमेत दिए।
मन्त्री खनालले विपद्पछि नेपाल सरकारको प्राथमिकता विपद् प्रतिरोधी, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण गर्दै पुनर्निर्माण अघि बढाउनु रहेको बताए। यसका लागि दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा रहेको उनले उल्लेख गरे।
जवाफमा विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न दक्षिण कोरिया सरकार तयार रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उनको भनाइ थियो।
नेपाल र दक्षिण कोरियाले जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन सहकार्य गर्नुपर्नेमा जोड दिँदै चोले कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाए।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने जलवायु तथा विपद्सम्बन्धी वित्तीय सहयोगका लागि समेत दक्षिण कोरियाले पहल गर्ने उनले बताए।