काठमाडौं । नेपाली फुटबलको आधिकारिक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेका बेला निजी समूहले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समूहले आगामी फागुन १ देखि लिग सञ्चालन गर्ने जनाएको हो।
लिगको नेतृत्व कल्याण गुरुङले गर्नेछन् भने कमिसनरमा राजु घिसिङलाई नियुक्त गरिएको छ। गुरुङ नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली ललितपुर सिटी एफसीका मालिक हुन्। उनले एन्फामाथि कारबाही भएको र नेपाली फुटबलमा लिग सञ्चालन हुन नसकेको अवस्थामा प्रतियोगिता अघि बढाउन लागेको बताए। उनका अनुसार नयाँ लिगका लागि एनएसएलसँग अनुमति लिइएको छ।
एनएफएलमा एनएसएलका सात टोली सहभागी हुने आयोजकको दाबी छ। काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी, झापा एफसी र ललितपुर सिटी एफसीले प्रतियोगितामा भाग लिने बताइएको छ। आयोजकले सहभागी टोलीको संख्या बढाएर १० पुर्याउन सकिने पनि जनाएको छ।
घिसिङका अनुसार प्रतियोगिता चार महिनासम्म चल्नेछ र खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ। एन्फामाथिको निलम्बन फुकुवा भएपछि प्रतियोगितालाई आधिकारिकता दिलाउने उनको दाबी छ।
यसअघि एनएसएल आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले गत जेठ ३ मा भदौ २० देखि लिग सुरु गर्ने घोषणा गरेको थियो। त्यसबेला घिसिङलाई एनएसएलको प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो। तर, घोषित मितिमा प्रतियोगिता हुन सकेन र त्यसबारे आयोजकले पछिल्लो समय औपचारिक जानकारी दिएको छैन।
एन्फा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा छ। यस्तो अवस्थामा निजी समूहले घोषणा गरेको एनएफएलले आधिकारिक स्वीकृति र फुटबल प्रशासनसँगको समन्वयबिना कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न भने कायमै छ।