काठमाडौं। जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध जापानको स्थायी आवासीय अनुमति (पीआर), सम्पत्ति र सम्भावित स्वार्थको द्वन्द्वबारे छानबिन गर्न माग गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
जापानमा बस्दै आएका अरुण पराजुलीले इमेलमार्फत दिएको उजुरीमा थापासँग जापानको पीआर र त्यहाँ घरजग्गा रहेको उल्लेख गर्दै उनको नाम अनुमोदन नगर्न माग गरेका छन्। सोमबार समितिको बैठकमा सचिव तुलबहादुर कँडेलले पढेर सुनाएको उजुरीअनुसार थापाले सन् २०१८ मा पीआर प्राप्त गरेको र जापानको कानागावा प्रिफेक्चरमा घर रहेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
उजुरीकर्ताले परराष्ट्र मन्त्रालयले राजदूतका लागि निर्धारण गरेको कार्यक्षेत्रगत सर्त (टीओआर) मा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति नभएको व्यक्ति हुनुपर्ने व्यवस्था रहेको दाबी गर्दै थापाको उम्मेदवारी मापदण्डविपरीत भएको जिकिर गरेका छन्। जापानमा रहेको सम्पत्ति, लगानी र आर्थिक दायित्वका कारण कूटनीतिक वार्तामा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने तथा जापानबाट सहमति नपाउने जोखिमसमेत उनले औँल्याएका छन्।
थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँगको राजनीतिक निकटताका आधारमा सिफारिस गरिएको आरोप लगाउँदै पराजुलीले छनोट प्रक्रियाको पारदर्शितामाथि छानबिन गर्न र सम्बन्धित कागजात झिकाउन माग गरेका छन्।
बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेबारे प्राप्त पत्रलाई उजुरी नभई सकारात्मक सुझावका रूपमा स्वीकार गरेको छ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेको उजुरीमाथि भने उजुरीकर्ताको अनुरोधमा गोप्य छलफल अघि बढाइएको छ।