म्याग्दी। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन्। उनले क्षतिको सर्वेक्षण र लागत अनुमान यथाशीघ्र तयार गरी बजेट माग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री लम्सालले आइतबार गुल्मी, बागलुङ, पर्वत र म्याग्दी हुँदै मुस्ताङको सिमानामा पर्ने रुप्से झरनासम्म पुगेर कालीगण्डकी करिडोरसहित विपद्बाट प्रभावित विभिन्न संरचनाको स्थलगत निरीक्षण गरेका हुन्। उनले कालीगण्डकी बाढीबाट प्रभावित मालढुंगा पुल, पर्वतको फर्से, बेनी खानेपानी आयोजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरो निरीक्षण गरेका थिए।
निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी करिडोर आयोजना र म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीसँगको छलफलमा मन्त्री लम्सालले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।
“बजेटको अभाव हुँदैन,” उनले भने, “जति सक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस्, पुनर्निर्माणमा ढिलाइ हुन नदिन सरकार सचेत छ।”
पुनर्निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनमा सहजीकरण गर्न पनि उनले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढीपहिरोबाट करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको र पुनर्निर्माणका लागि करिब चार अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी मन्त्रीलाई गराएका थिए।
यसैबीच, बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले खानेपानी आयोजना पुनर्निर्माणका लागि बजेट व्यवस्था गर्न आग्रह गरेका थिए। बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले पनि बाढीले क्षतिग्रस्त कुण्डको पुनर्निर्माणका लागि बजेट माग गरेका थिए। मन्त्री लम्सालले दुवै पक्षलाई व्यवस्थित योजना तयार गरी बजेटका लागि पेस गर्न आग्रह गरे।
मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी–दरवाङ–मुना–ढोरपाटन सडकको फापरखेत पहिरोका कारण यातायात सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यान गएको पनि उनले बताए।
म्याग्दीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि मन्त्री लम्सालको टोली मध्यपहाडी लोकमार्गको अवस्थाबारे बुझ्न बागलुङ गएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए।