चन्दा क्षेत्री/केटिएम दैनिक
काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण तथा प्रतियोगिता सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्ने तयारी अघि बढाएको छ। क्यानका सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएल सञ्चालनका क्रममा आईसीसीका नियम तथा प्रावधान पूर्ण रूपमा पालना गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीका हकमा पनि यो व्यवस्था लागू हुनेछ।
त्यस्तै, प्रतियोगितामा हुन सक्ने म्याच फिक्सिङ, स्पट फिक्सिङ तथा अन्य अनियमितता नियन्त्रणका लागि आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहिता र एन्टी करप्सन युनिट (एसीयू) का नियम कडाइका साथ लागू गरिने खड्काले बताए। ‘फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आईसीसीको एन्टी करप्सन युनिट (एसीयू) का नियमहरू कडाइका साथ लागू गरिनेछ। नेपालको कानुन र आईसीसीको आचारसंहिता दुवै लागू हुने भएकाले खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरू थप जिम्मेवार र सतर्क हुनुपर्नेछ,’ उनले भने। क्यानका अनुसार एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा आईसीसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिइएका प्रतियोगितामा सहभागी भएका खेलाडी यस संस्करणमा खेल्न अयोग्य हुनेछन्। यस व्यवस्थाले खेलाडीको योग्यता निर्धारणसँगै प्रतियोगिताको विश्वसनीयता र पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विदेशी खेलाडीको संख्या र खेल्ने ११ को संरचना यथावत्
एनपीएलको तेस्रो संस्करणमा प्रत्येक फ्रेन्चाइज टोलीले न्यूनतम ६ देखि अधिकतम ८ जनासम्म विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। तर, प्रत्येक खेलमा मैदान उत्रिने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था रहेको खड्काले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न भएको ६० दिनभित्र समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ। आईसीसीका प्रावधानअनुसार प्रतियोगिता सञ्चालन, खेलाडीको योग्यता तथा अन्य व्यवस्थाको समीक्षा गरी प्रतिवेदन तयार गरिनेछ।
एनपीएलमा डीआरएस लागू गर्ने तयारी अन्तिम चरणमा
एनपीएलको तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको क्यानका सचिव खड्काले बताए। यसबारे सोमबारसम्म औपचारिक निर्णय सार्वजनिक गरिने उनको भनाइ छ। ‘एनपीएलमा डीआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ। यसबारे सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ,’ खड्काले भने।
डीआरएस लागू भएमा खेलका क्रममा अम्पायरका निर्णयमाथि निर्धारित प्रक्रियाअनुसार पुनरावलोकन गर्न सकिनेछ। यसले निर्णायक निर्णयको शुद्धता बढाउन र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा आईसीसी एसिया सम्मेलन आयोजना हुँदै
यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा आईसीसी एसिया सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट संघका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने खड्काले जानकारी दिए। उनका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकास तथा क्रिकेटको समग्र विकाससँग सम्बन्धित विषयमा छलफल हुनेछ। आईसीसीको मान्यतापछि एनपीएलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनलाई व्यवस्थित बनाउने क्यानको तयारीले नेपाली फ्रेन्चाइज क्रिकेटको विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।