नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानी समेत बढाएको नेता निरज आचार्यले जानकारी दिए ।
वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै सरकारले कुनै पूर्वजानकारीबिना हटाइएको थियो ।
सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको आचार्यले जानकारी दिएका छन् ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा एमाले केन्द्रीय कार्यालयको सुरक्षा पहरा दिने पनि उनले बताए । सीसीटीभी क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिने पनि उनले बताए ।