काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएका कतिपयको शव पहिचान गर्न कठिनाइ भएको छ । शव गलेको, अनुहार चिन्न नसकिने तथा कतिपय अवस्थामा शरीरका केही अङ्ग मात्रै फेला परेकाले पहिचानमा समस्या भएको हो ।
शव पहिचानका लागि सरकारले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारले बाढीमा बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीलाई सम्भावित डीएनए दाताका रूपमा राखेर नमुना सङ्कलन गर्न थालेको हो ।
सम्बन्धित आफन्तको रगतको नमुना सङ्कलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरिनेछ । परीक्षणबाट प्राप्त प्रोफाइलसँग मिल्दो डीएनए पहिचान भएको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने प्रयोगशालाले जनाएको छ ।
डीएनए परीक्षणका लागि सम्बन्धित परिवारका सदस्यले पहिले नेपाल प्रहरीलाई सम्पर्क गर्नुपर्नेछ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अनुसार बेपत्ता व्यक्तिका आमाबाबु वा सन्तानले ताजा रगतको नमुना उपलब्ध गराउन सक्नेछन् । नमुना दिन जाने आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसमेत ल्याउनुपर्नेछ ।
रगतको नमुना कहाँ दिने ?
काठमाडौँ उपत्यकामा नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी प्रयोगशालामा सम्बन्धित परिवारका सदस्यको रगतको नमुना सङ्कलन गरिनेछ । उपत्यकाबाहिर रहेका आफन्तले भने नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
विदेशमा रहेका आफन्तले आफू बसोबास गर्ने देशको आधिकारिक फरेन्सिक प्रयोगशालाबाट डीएनए प्रोफाइल तयार गराउन सक्नेछन् । त्यसरी प्राप्त डीएनए प्रोफाइलको विद्युतीय प्रति भने सिधै नेपाल प्रहरीलाई पठाउनुपर्ने व्यवस्था गरिएको छ।
