काबुल। अफगानिस्तानमा सन् २००१ देखि २०२१ सम्म चलेको अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेप र त्यसका प्रभाव समेटिएको पुस्तक ‘मेमोरिज अफ जिहादः ट्वान्टी इयर्स इन अकुपेसन’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ।
अफगानिस्तानको सूचना तथा संस्कृति मन्त्रालयका प्रकाशन उपमन्त्री मुहाजेर फराहीद्वारा लिखित पुस्तकमा दुई दशकको युद्धका क्रममा भएका प्रमुख घटना, नागरिक हताहती, विस्थापन, भौतिक विनाश र मानसिक आघातलाई अभिलेखीकरण गरिएको छ।
पुस्तकको सुरुवात सन् २००९ मा फराह प्रान्तमा भएको अमेरिकी बमबारीको मार्मिक घटनाबाट गरिएको छ। बमबारीमा आमाको मृत्यु भएपछि उनको शवबाट दूध चुस्न खोजिरहेको एक शिशुको दृश्यलाई लेखकले युद्धको मानवीय त्रासदीको प्रतिनिधि घटनाका रूपमा प्रस्तुत गरेका छन्।
अफगानिस्तानबाट अन्तिम अमेरिकी सैनिक फिर्ता भएको तीन वर्ष पूरा हुनुअघि पुस्तक सार्वजनिक गरिएको हो। लेखक फराहीले अमेरिकी सैन्य उपस्थितिका क्रममा आफूहरूले भोगेका घटना र त्यसको अफगान समाजमा परेको प्रभावलाई अभिलेखका रूपमा सुरक्षित गर्ने उद्देश्यले पुस्तक लेखिएको बताएका छन्।
पुस्तक सार्वजनिक गर्दै फराहीले सन् २००१ देखि २०२१ सम्म अमेरिकी सेनाबाट गाउँबस्ती, विवाह समारोह, अन्त्येष्टि तथा शैक्षिक संस्थामा समेत बमबारी भएको दाबी गरेका छन्। उनका अनुसार त्यस अवधिमा ठूलो संख्यामा नागरिक मारिए भने हजारौँले कारागार र यातना भोग्नुपरेको थियो।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको करिब ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेको विषय पनि पुस्तकमा समेटिएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध र वैदेशिक सहायता घटेपछि अफगान अर्थतन्त्रले भोगिरहेको संकटलाई समेत पुस्तकले युद्धपछिको अवस्थाका रूपमा चित्रण गरेको छ।