न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै दुवै पक्षलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह गरेका छन्।
करिब एक महिनाको सापेक्षिक शान्तिपछि गत सप्ताहान्तमा दुई देशबीच फेरि गोलाबारी र आक्रमणका घटना भएका हुन्। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले सोमबार पत्रकार सम्मेलनमार्फत गुटेरेसको धारणा सार्वजनिक गरेका छन्।
गुटेरेसले पुनः सुरु भएको सैन्य गतिविधिलाई ‘अत्यन्तै खेदजनक’ बताएका छन्। उनले सैन्य तनाव कम गर्दै कूटनीतिक संवाद र वार्तामा फर्कन दुवै पक्षलाई आग्रह गरेका छन्।
क्षेत्रीय स्थिरता र विश्वासको वातावरण पुनस्र्थापित गर्न कूटनीतिक समाधान नै उत्तम विकल्प भएको राष्ट्रसंघले जनाएको छ। द्वन्द्व समाधानका लागि राजनीतिक वार्तामार्फत सहमतिमा पुग्न सम्बन्धित पक्षलाई महासचिवले अपिल गरेका छन्।