काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै बंगलादेशको संसद्ले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ।
शोक प्रस्तावमार्फत बंगलादेशी सांसदहरूले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रस्ताव पारित गर्नुअघि सांसदहरूले मृतकहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण गरेका थिए। त्यसपछि दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो। प्रार्थनाको नेतृत्व बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए।
यसैबीच, बंगलादेशी संसद्का सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले जारी गरेको शोक सन्देशमा पीडित परिवारप्रति समवेदना प्रकट गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
गत १० भदौमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव अचानक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ। बाढीका कारण कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकसमेत प्रभावित भएका छन्
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म भोटेकोशी बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २२७ जना अझै सम्पर्कविहीन छन्। हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।
पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ। बाढीमा २६७ जना घाइते भएकामा १५६ जना उपचारपछि घर फर्किसकेका छन्।
विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। तीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन्।