न्युयोर्क । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
अमेरिकाले आइतबार इरानको लाराक द्वीपमा आक्रमण गरेपछि त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो। दुई देशबीचको बढ्दो तनावले तेल आपूर्तिमा असर पर्न सक्ने आशंकाका कारण बजारमा कच्चा तेलको मूल्य बढेको हो।
लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर ९० डलर ३१ सेन्ट पुगेको छ। यो शुक्रबारको कारोबार बन्द हुँदाको मूल्यभन्दा २ दशमलव ५१ प्रतिशत बढी हो।
त्यस्तै, न्युयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य पनि प्रतिब्यारेल १ डलर ८३ सेन्ट बढेर ८५ डलर २३ सेन्ट पुगेको छ। यो पनि शुक्रबारको तुलनामा २ दशमलव १९ प्रतिशतको वृद्धि हो।
यद्यपि, ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य अगस्टमा समग्रमा केही कमजोर रहने देखिएको छ। गत साता दुवैको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको थियो। लगातार तीन साता मूल्य बढेपछि गत साता तेल बजारमा पहिलोपटक साप्ताहिक गिरावट आएको थियो।
आइतबार अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजस्थित इरानको लाराक टापुमा दुईवटा रकेट प्रहार गरेको थियो। जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य आक्रमण हो।
त्यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई सैन्य अड्डालाई निशाना बनाएको इरानी सञ्चारमाध्यमले इरानको रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका थिए। तर, उक्त टापुमा आक्रमण भइरहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। ट्रम्पले आफ्नो पोस्टसँगै एआईबाट तयार पारिएको भिडियोसमेत राखेका थिए।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्ता अहिले गतिरोधमा छ। यसबीच मध्यस्थकर्ताहरूले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। द्वन्द्व सुरु हुनुअघि विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
डीबीएसका ऊर्जा अनुसन्धान प्रमुख सुव्रो सरकारले दीर्घकालीन द्वन्द्वभन्दा सीमित दायरामा टकराब जारी रहने सम्भावना बढी रहेको बताएका छन्। उनका अनुसार स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने समयसीमा द्वन्द्वका प्रत्येक नयाँ घटनाबाट प्रभावित भइरहेको छ।
उनले अमेरिका र इरानबीच तेस्रो त्रैमासको अन्त्यसम्ममा वार्ता पुनः सुरु हुने अपेक्षा कमजोर बन्दै गएको उल्लेख गर्दै होर्मुजको अवस्थाबारे थप स्पष्टता नआएसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ देखि ९५ अमेरिकी डलरको दायरामा रहने अनुमान गरेका छन्।