चितवन। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ शव फेला परेका छन्। तीमध्ये १२ जनाको सनाखत भएको छ भने १९९ शवको व्यवस्थापन गरिएको छ।
व्यवस्थापन गरिएका शवको डिएनए नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। सनाखत भएका शवको परीक्षणपछि सम्बन्धित परिवारले बुझेर लगेका छन्। बेपत्ता व्यक्तिका परिवारसँग डिएनए नमुना मिलेमा शव व्यवस्थापन गरिएको स्थानबाट पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी प्रत्येक शवको विवरण र स्थान पहिचानका लागि सङ्केत चिह्न राखिएको छ।
हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका तथा ८७ वटा मानव अवशेष रहेका छन्।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको प्रहरीले जनाएको छ।