भोजपुर– भोजपुरका बेँसी क्षेत्रमा उत्पादित रुद्राक्षको यस वर्षको कारोबार सुरु भएको छ । किसानले रुद्राक्षका दाना टिप्न थालेसँगै यसको बिक्रीसमेत सुरु गरेका छन् । पछिल्लो समय रुद्राक्षखेती जिल्लाका किसानका लागि आकर्षक आम्दानीको स्रोत बन्दै गएको छ ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरमा करिब रु एक अर्बबराबरको रुद्राक्ष कारोबार भएको थियो । उनका अनुसार जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुन्छ । गुणस्तरीय र दुर्लभ रुद्राक्षको एउटै दानाबाट किसानले लाखौँ रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
कम मेहनतमै तुलनात्मक रूपमा राम्रो आम्दानी गर्न सकिने भएकाले रुद्राक्ष खेती किसानको रोजाइमा पर्न थालेको अध्यक्ष चापागाईँले बताए । रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि युवापुस्तासमेत यसको खेती र व्यवसायमा आकर्षित भइरहेको उनको भनाइ छ ।
“राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन गर्न सके किसानले एउटै दानाबाट पनि धेरै आम्दानी गर्न सक्छन्,” उनले भने, “यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।”
भोजपुरको षडानन्द नगरपालिका–१२ अन्तर्गत दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई आम्दानीको मुख्य माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका करिब ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् ।
षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी गर्न सकिने बताए । उनका अनुसार गुणस्तरीय तथा दुर्लभ दाना उत्पादन गर्न सके एकैपटक ठूलो रकम हात पार्न सकिन्छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ ।
सोही क्षेत्रका किसान पुष्पबहादुर तामाङका अनुसार एउटै बोटमा फलेका सबै रुद्राक्षको मूल्य समान हुँदैन । दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा यसको मूल्य निर्धारण हुने उनले बताए ।
“बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन,” उनले भने, “स्पष्ट मुख देखिएका, राम्रो आकारका र आकर्षक बनोट भएका रुद्राक्षले बजारमा बढी मूल्य पाउँछन् ।”
धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग नेपालमा मात्र नभई विदेशमा समेत उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम रु ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने र पुराना बगान संरक्षण गर्ने क्रम पनि बढेको छ । व्यावसायिक खेती विस्तारसँगै गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना भएको स्थानीय किसानको भनाइ छ ।
दिङ्ला क्षेत्रमा उत्पादित रुद्राक्ष खरिद गर्न चीनका व्यापारीसमेत किसानका घरघरमा पुग्ने गरेका छन् । व्यवसायीका अनुसार भोजपुरमा उत्पादित रुद्राक्षको प्रमुख प्रारम्भिक बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार हुन् । खाँदबारी हुँदै रुद्राक्ष तराईका विभिन्न जिल्ला र काठमाडौँ पुग्ने तथा त्यहाँबाट चीन र भारतसम्म निर्यात हुने गरेको छ ।
भोजपुरको षडानन्द नगरपालिकाका दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी र झ्याउपोखरी तथा साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिकाको प्याउली, जरायोटार र सिक्रेटारलगायत क्षेत्रमा रुद्राक्षखेती हुँदै आएको छ । पौवादुङमा गाउँपालिकालगायत जिल्लाका अन्य क्षेत्रमा पनि यसको खेती विस्तार भइरहेको छ ।
समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभाग रुद्राक्षखेतीका लागि उपयुक्त मानिन्छ । भोजपुरको भौगोलिक अवस्था, हावापानी र माटो रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले यसको व्यावसायिक सम्भावना अझै उच्च रहेको जानकारहरू बताउँछन् ।