नुवाकोट– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका तीन हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गएरातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट तीन हजार २९ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये दुई हजार ७७६ जना नेपाली नागरिक र २५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए।
उनका अनुसार बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक पर्ने व्यक्तिलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ। अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको उनले बताए।
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार जलविद्युत् आयोजनाको सुरुङभित्र फसेको भनिएका व्यक्तिबाहेक अन्य क्षेत्रमा जारी रहेको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा हेलिकप्टरबाट नियमित रेकी भइरहेको प्रजिअ रेग्मीले बताए।
यसैबीच, बाढीमा परी आफन्त हराएको भन्दै आइतबारसम्म एक हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ। नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना परिवारका सदस्य हराएको भन्दै खोजीका लागि निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नम्बर १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
बाढीमा फसेका तथा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ।
बाढीमा परी मृत्यु भएकामध्ये नुवाकोटमा हालसम्म ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा परिचालित संयुक्त सुरक्षा टोलीले खोज तथा उद्धारका क्रममा ती शव सङ्कलन गरेको हो।
सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।