काठमाडौँ — रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका श्रमिकको उद्धारका लागि गरिएको ड्रिलिङ कार्य सफल भएको छ। मेसिनमार्फत केबल टनेलसम्म प्वाल छिचोलिएपछि उद्धार कार्य थप सहज बनेको छ।
आइतबार राति ड्रिलिङ पूरा गरी टनेलसम्म प्वाल पुर्याइएको हो। प्वालबाट सुरुङभित्रको अवस्था जाँच गर्दा भित्र सुख्खा रहेको पाइएको छ। त्यहाँ रहेका श्रमिकलाई सहज होस् भनेर कम्प्रेसरमार्फत अक्सिजनयुक्त हावा र प्रकाशका लागि बत्ती पठाइएको छ।
सुरुङभित्र रहेका श्रमिकहरू सुरक्षित अवस्थामा रहेको अनुमान गरिएको छ। अविरल वर्षा र नदीको जलसतह बढेका कारण केही समय उद्धार कार्य प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा काम भइरहेको छ।
उद्धारका लागि बनाइएको प्वाललाई थप ठूलो बनाएर मानिस प्रवेश गर्न सक्ने बनाउने तयारी भइरहेको छ। त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर श्रमिकलाई बाहिर निकाल्ने योजना छ।
हाल आयोजनास्थलमा प्राविधिक टोलीले थप ड्रिलिङ तथा उद्धारसम्बन्धी कामलाई निरन्तरता दिइरहेको छ।