काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा सम्बन्धित निकायको अनुमति नलिई ड्रोन नउडाउन आग्रह गरेको छ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाइएको पाइएकाले त्यस्ता गतिविधिमा रोक लगाइएको जनाएको हो।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय तथा निजी क्षेत्रका हेलिकप्टर खोज तथा उद्धार कार्यमा निरन्तर परिचालन भइरहेका छन्। यस्तो अवस्थामा अनधिकृत ड्रोन उडाउँदा हेलिकप्टरको उडान तथा उद्धार कार्यमा अवरोध पुग्नुका साथै हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनसक्ने जनाइएको छ।
‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्रै ड्रोन उडाउन पाइने प्राधिकरणले स्पष्ट पारेको छ।
अनुमति नलिई ड्रोन उडाएमा वा खोज तथा उद्धार कार्यमा अवरोध पुर्याएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। सूचना उपसचिव रामबहादुर केसीले जारी गरेका हुन्।