काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका बासिन्दालाई राहत मिल्ने खबर आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ।
महाशाखाले आइतबार बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो विवरण तथा स्थलगत अवस्थाका आधारमा नदी आसपासमा ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो।
महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना प्राप्त भएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि अवस्था असामान्य वा ठूलो बाढी आउने खालको नरहेको पाइएको छ।
यसैका आधारमा रसुवादेखि नुवाकोट हुँदै धादिङसम्मका नदी तटीय क्षेत्रमा हाल ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको छ।
यसअघि नदीमा पानीको बहाव बढेको र नदी सुसाएको सूचना आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो।