हेटौँडा । बागमती प्रदेशसभामा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ । यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
हिजो पटकपटक बैठक सरेर राति ८ बजेका लागि तय भएको थियो । तर निर्धारित समयमा बस्न नसकेपछि आजका लागि आह्वान भएको हो ।
आइतबारदेखि नै मुख्यमन्त्री थापाले विश्वासको मत लिन खोजेका थिए । तर गठबन्धनभित्रै असन्तुष्टिसँगै समर्थन गरेको राप्रपामा पनि विवाद भएर अदालतसम्म मुद्दा दर्ता भएपछि समस्या भएको हो । यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विवाद टुंग्याएर मात्र विश्वासको मत लिने व्यवस्था गर्न माग गरेपछि सोमबार तय भएको कार्यक्रम सरेको हो ।
हिजो विश्वासको मत दिने बेला सत्ता साझेदार नेकपाका सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका थिए । मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट रहेका युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल, कृष्ण खनालसहित सात सांसद काठमाडौँमा रहेको बताइएको छ।
बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । तर सरकार गठनमा समर्थन गरेका दुवै दलभित्र आन्तरिक विवाद देखिएको छ।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि दुई मत अपुग हुने भएकाले राप्रपाका १२ सांसदमध्ये कम्तीमा नौ जनाको समर्थन आवश्यक पर्ने अवस्था छ।
राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरे पनि संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको तर्फबाट सरकारलाई समर्थन जनाएपछि थापा मुख्यमन्त्री बनेका हुन् । यो निर्णयविरुद्ध राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्।
रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि बोलाएको छ। रिटको टुङ्गो नलागेसम्म विश्वासको मत लिन नमिल्ने अडान कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्।