काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान बस्दैछ।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न बिहान ८:३० बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौं उपत्यकामा रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।
७९ वर्षीय श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।