काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन र पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै देशभर शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका थिए।
उनले पाँचथरसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनाको कार्यलाई तीव्र र प्रभावकारी बनाउन संसद् तथा सरकारले समन्वयात्मक रूपमा पहल गर्नुपर्ने धारणा पनि राखेका थिए।
भेटका क्रममा आङ्देम्बेले नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि सभामुखको ध्यानाकर्षण गराएका थिए। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा अवरुद्ध नहुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।