काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि गम्भीर चुनौती खडा गरेको दाबी गरेका छन् । सरकारका पछिल्ला गतिविधि राष्ट्रिय हित, संवैधानिक व्यवस्था र श्रमजीवी वर्गका अधिकारविपरीत उन्मुख भएको उनको आरोप छ ।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको आरोप लगाए । संसद्मा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिलाई रास्वपाका नेताहरूले समर्थन गर्दै पुष्टि गर्न खोजेको दाबी गर्दै उनले त्यसलाई राष्ट्रहितविपरीत भएको बताए ।
‘रास्वपा नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र श्रमजीवी वर्गका अधिकारमाथि गम्भीर चुनौती सिर्जना गरेको देखिन्छ,’ उनले भने ।
संविधान संशोधनको बहस मूल मर्म र लोकतान्त्रिक व्यवस्थाको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै श्रेष्ठले संविधानलाई कमजोर बनाउने कुनै पनि प्रयासको प्रतिरोध गर्नुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि नियन्त्रण बढाउने सरकारी प्रवृत्तिले लोकतान्त्रिक अधिकार खुम्चिने खतरा रहेको उनको भनाइ थियो ।
सुकुम्बासीमाथिको सरकारी व्यवहारको पनि उनले आलोचना गरे । डोजर र सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउने, होल्डिङ सेन्टरमा आधारभूत सुविधासमेत उपलब्ध नगराउने तथा अमानवीय व्यवहार गर्ने काम भएको उनको आरोप थियो ।
श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि देखिएका चुनौती सामना गर्न कम्युनिष्ट आन्दोलनले आत्मसमीक्षा गर्दै वैचारिक र संगठनात्मक रूपमा सुदृढ हुनुपर्नेमा जोड दिए ।