काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको दाबी गर्दै त्यसको सामना गर्न कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्नुको विकल्प नरहेको बताएका छन् ।
शनिबार काठमाडौंस्थित पेरिसडाँडामा नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै आन्दोलनलाई पुनर्जीवित गरी पुनः देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने बताए ।
दाहालले राष्ट्रिय स्वाधीनतामाथि देखिएको संकट, कम्युनिष्ट आन्दोलनले भोगिरहेको असाधारण चुनौती र मुलुकमा देखापरेको निरंकुश प्रवृत्तिको सामना गर्न कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा राखे ।
‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको छ । पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताको योगदान स्मरण गर्ने सबैभन्दा ठूलो श्रद्धाञ्जलि आन्दोलनलाई फेरि एकताबद्ध गर्दै पुनर्जीवित गर्नु हो,’ उनले भने ।
श्रद्धाञ्जलि कार्यक्रमलाई औपचारिकतामा सीमित गर्न नहुने उल्लेख गर्दै दाहालले त्यसलाई आन्दोलनप्रति नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । देशमा देखापरेको चुनौतीपूर्ण परिस्थितिको सामना गर्न कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
दाहालले मुलुकमा निरंकुश प्रवृत्ति मौलाउँदै गएको जिकिर गर्दै त्यसविरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । ‘देशमा देखापरेको निरंकुश प्रवृत्तिविरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।