काठमाडौं । नेपाली कांग्रेसले पार्टीको निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन निर्वाचन ब्युरो गठन गरेको छ । ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री तथा केन्द्रीय सदस्य जीवन परियारलाई जिम्मेवारी दिइएको छ ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उपसभापति पुष्पा भुसालले सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ब्युरो गठन गरिएको जानकारी दिइन् ।
उनका अनुसार ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रीय सदस्यसँगै प्रविधिसँग आबद्ध युवा नेताहरूलाई सदस्य बनाइएको छ ।
भुसालले विशेष महाधिवेशनबाट पारित नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अघि बढाउने बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन नै अब पार्टीको मुख्य चुनौती भएको उल्लेख गरिन् ।