काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले संगठन सुदृढ गर्दै कांग्रेसलाई देशकै सबैभन्दा लोकप्रिय राजनीतिक दल बनाउने बताएका छन् ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले बदलिएको समयअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
‘बलियो संगठन निर्माणमार्फत कांग्रेसलाई लोकप्रिय, सुदृढ र अन्य दलभन्दा सक्षम पार्टीका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
पछिल्ला वर्षहरूमा संगठन कमजोर बन्दै गएको महसुस भएपछि विशेष महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरिएको उल्लेख गर्दै घिमिरेले त्यसले पार्टीलाई नयाँ गति दिएको दाबी गरे ।
युवा, महिला तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिकका लागि कांग्रेसलाई साझा राजनीतिक मञ्चका रूपमा विकास गरिने बताउँदै उनले संगठन निर्माणमा सबै कार्यकर्तालाई एकजुट हुन आह्वान गरे ।