काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई आम जनता र ‘भुइँ मान्छे’का मुद्दासँग जोड्दै समयअनुकूल नयाँ सोच र अभियानका साथ अघि बढाउनुपर्ने बताएका छन् ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले वीपी कोइरालाको नेतृत्वमा कांग्रेसले समाजका सबै वर्ग र समुदायका मुद्दालाई राजनीतिक एजेन्डा बनाएको स्मरण गर्दै बदलिएको समयअनुसार जनताका वास्तविक समस्या केन्द्रमा राख्नुपर्ने बताए ।
‘आज हामीले आत्मसमीक्षा गर्नुपर्छ । के हामीले जनताका वास्तविक समस्या र भुइँ मान्छेका मुद्दालाई त्यही गम्भीरताका साथ एजेन्डामा समेट्न सकेका छौं ?’ उनले भने ।
समयसँगै चुनौती र प्राथमिकता बदलिएकाले सोच, संकल्प र अभियान पनि त्यसअनुकूल हुनुपर्ने उल्लेख गर्दै पौडेलले वीपीको विचारबाट प्रेरणा लिएर कांग्रेसलाई अझ जनमुखी र समावेशी बनाउनु आजको आवश्यकता रहेको बताए ।
उनले कांग्रेसको सदस्यता प्रणाली पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको जानकारी दिँदै अधिकांश सदस्यले आफ्नो विवरण अद्यावधिक गरिसकेको बताए । उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचन र प्रविधिमार्फत मतदान प्रणाली लागू गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।
युवाको सहभागिता बढाउन ३० र ३५ वर्षमुनिका सदस्यको अनिवार्य प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिएको पनि उनले बताए ।