काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार सञ्चालनमा देखिएको अस्पष्टता हटाएर स्पष्ट ढंगले अघि बढाइने बताए ।
‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो भएको छ । त्यसको समाधान हामी छिट्टै दिन्छौं । अस्पष्टता हटाएर प्रदेश र स्थानीय सरकार स्पष्ट ढंगले सञ्चालन हुन्छन्,’ उनले भने ।
कांग्रेस र एमालेबीच प्रदेश सरकारको सत्ता साझेदारी अन्त्य हुने चर्चा चलिरहेका बेला ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताएका हुन् ।
उनले सबै राजनीतिक दलले मिलेर संघीय सरकारलाई पनि जिम्मेवार र सजग बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।