काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोइरालाको विचार कुनै व्यक्ति वा परिवारको सम्पत्ति नभई सम्पूर्ण समाजको साझा वैचारिक सम्पदा भएको बताएका छन् ।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले वीपीको विचारलाई ब्रह्माण्डीय दर्शनको संज्ञा दिँदै त्यसमा कसैको ट्रेडमार्क नलाग्ने बताए ।
‘वीपी कोइरालाको विचार ब्रह्माण्डीय विचार हो । यो कम्पनी रजिस्ट्रारमा दर्ता गरिएको कुनै ब्रान्ड होइन,’ उनले भने ।
शर्माले आफूहरू वीपीको रगत बोक्ने नभए पनि उनको विचार, आदर्श र सिद्धान्त बोकेर अघि बढिरहेको बताए । वीपीको आह्वानमा ज्यान दिएका दुर्गानन्द झा, कामेश्वर कुशेश्वरलगायतका व्यक्तिको योगदानले उनको विचार राष्ट्रिय चेतनाको हिस्सा बनेको उनको भनाइ थियो ।
उनले कांग्रेसको वर्तमान नेतृत्वले वीपीको विचारलाई बदलिएको समयअनुसार अघि बढाउने उल्लेख गर्दै गौतम बुद्धपछि विश्वले चिन्ने नेपाली राजनीतिक दर्शनका रूपमा वीपीको विचार स्थापित गर्नुपर्ने धारणा राखे ।
वीपीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै देशलाई अघि बढाउन कांग्रेसका नेता–कार्यकर्तालाई आह्वान गरेका शर्माले आगामी ५० वर्षपछि पनि नेपालका युवाले बुद्धपछि स्मरण गर्ने व्यक्तित्वका रूपमा वीपी कोइरालाकै नाम लिन सक्ने वातावरण निर्माण गर्नु कांग्रेसको दायित्व भएको बताए ।
पार्टीभित्र देखिने मतभेद र आलोचनालाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै उनले त्यसलाई संगठन सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।