काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताएका छन् ।
वीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी एकताका लागि धेरै ढिला भइसकेको भन्दै अब निर्णयमा पुग्नुपर्ने बताए ।
नेपाली काँग्रेस कमजोर बन्दै गए प्रजातन्त्र मात्रै नभई मुलुकको राजनीतिक भविष्यसमेत संकटमा पर्न सक्ने उल्लेख गर्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए । पार्टीभित्र लामो समयदेखि अधिवेशन हुन नसक्दा नेता–कार्यकर्ताले आफ्नो राजनीतिक अस्तित्व खोज्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
सातै प्रदेशको भेला सम्पन्न भइसकेकाले अब ढिलाइ नगरी केन्द्रीय राष्ट्रिय भेलाको मिति घोषणा गर्नुपर्नेमा जोड दिँदै बस्नेतले कमजोर पार्टीको नेता बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्नु आवश्यक रहेको बताए ।
उनले भने, “पार्टी फुटाउने होइन, बनाउने हो । गगन थापासँग नेपाली काँग्रेस र प्रजातन्त्रवादीहरू सती जान दिने होइन । कमजोर पार्टीको नेता होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्छ ।”