काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न जनअसन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसकिए विस्फोट हुन सक्ने चेतावनी दिएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेले लेखेका ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताए ।
उनले राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा निराशा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई चिर्न नेपाली काँग्रेस आफैं अग्रसर हुनुपर्ने बताए । जनअसन्तुष्टिलाई सम्बोधन गर्ने जिम्मेवारी काँग्रेसकै भएको उनको भनाइ थियो ।
“राजनीतिमा चरम विकृति छ । त्यो विकृतिका कारण नागरिकमा चरम असन्तुष्टि बढिरहेको छ । त्यो असन्तुष्टिलाई समयमै सम्बोधन गरिएन भने विस्फोट हुन सक्छ । र यसलाई सम्बोधन गर्ने काम अन्य दलको मतलव भएन । हाम्रो पार्टी नेपाली काँग्रेसले गर्नुपर्छ ,” थापाले भने ।
थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र नेपाली काँग्रेस रूपान्तरणको आवश्यकतालाई निरन्तर उठान गरेको बताए । विगतमा घिमिरेले ‘नेपाली काँग्रेसका युवाको उद्घोष : कि भिडौँ, कि छाडौँ’ जस्ता लेखमार्फत तल्लो तहका नागरिकले महसुस गरिरहेका विषयलाई प्रस्तुत गरेको पनि उनले बताए ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई नागरिकमाझ पुगेर उनीहरूका समस्या बुझ्न र समाधानका लागि सक्रिय हुन पनि निर्देशन दिए ।