काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्।
त्यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने कार्यक्रम छ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग विस्तृत छलफल हुने जनाइएको छ।