काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई नेताको आदेश मात्र पालना गर्ने प्रवृत्ति त्यागेर विवेकका आधारमा काम गर्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा नेविसंघले आयोजना गरेको कार्यक्रममा उनले नेताको ‘हुकुमी शैली’ पछ्याउने संस्कारबाट बाहिर निस्कँदै संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । राष्ट्रियताको सवालमा सबै लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्दै नेविसंघले पनि त्यसअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
काफ्लेले साउन ६ गते मनाइने बीपी स्मृति दिवस प्रभावकारी बनाउन तत्काल कार्यक्रम संयोजक तोक्न, प्रत्येक कलेजमा जिम्मेवारी बाँडफाँड गर्न तथा समन्वयात्मक ढंगले तयारी अघि बढाउन निर्देशन दिए । लक्ष्यप्रति इमानदार र एकताबद्ध भएर काम गर्न आग्रह गर्दै उनले आवश्यक परे जुनसुकै समयमा पनि आफू सहयोग गर्न तयार रहेको बताए ।