काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य निर्देशित अराजकता, नीतिहीनता र कानुनविहीनता बढेको आरोप लगाएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले वर्तमान राजनीति नीति, विधि र स्पष्ट दिशाभन्दा अस्थिरता र अवसरवादतर्फ उन्मुख भएको टिप्पणी गरे । एमाले सडक र सदन दुवै मोर्चाबाट संघर्षरत रहेको उल्लेख गर्दै उनले सडक आन्दोलनमा केही धक्का लागे पनि दुवै संघर्ष एकअर्काका पूरक रहेको बताए ।
ओलीले लोकतन्त्रमा सरकार परिवर्तन संविधान, कानुन र संसदीय प्रक्रियाअनुसार हुनुपर्ने भन्दै वर्तमान सरकारको सुरुआत नै षड्यन्त्र र अराजकताबाट भएको दाबी गरे । सामाजिक सञ्जालको दुरुपयोगले गलत सूचना, भ्रम र चरित्रहत्या फैलाएर लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाइरहेको उनको भनाइ थियो ।
विश्व राजनीतिमा समेत अस्थिरता बढिरहेको उल्लेख गर्दै ओलीले नेपालमा संवैधानिक मर्यादा कमजोर पार्ने र जनमतभन्दा बाहिरबाट लोकतन्त्र सञ्चालन गर्न खोजिएको आरोप लगाए । उनले संविधान, कानुनी शासन र लोकतान्त्रिक मूल्यको पालना गर्दै राजनीति अघि बढ्नुपर्नेमा जोड दिए ।