काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूह (नियमित महाधिवेशन पक्षधर) ले पार्टीभित्रको विवादले कांग्रेस विभाजनको संघारमा पुगेको निष्कर्ष निकाल्दै साउनभित्र काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समूहले पार्टी एकताका प्रयास सफल हुन नसकेको र संस्थापन पक्ष एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगायो । नेता मिनबहादुर विश्वकर्माले बीपी कोइरालाको ४४ औँ स्मृति दिवस साउन ६ गते प्रज्ञा भवनमा मनाइने र सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिने जानकारी दिए । कार्यक्रम व्यवस्थापनका लागि प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
समूहले ‘नियमित कि विशेष महाधिवेशन’ विवादले पार्टी गम्भीर संकटमा पुगेको ठहर गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयलाई ‘बदनियतपूर्ण र अन्यायपूर्ण’ भनेको छ । साथै १४ औँ र विशेष महाधिवेशनका कार्यसमितिलाई समायोजन गरी गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तथा क्रियाशील सदस्यताको विवाद समाधानलगायत विषयमा सहमति हुन सक्ने जनाएको छ ।
समूहले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकताले मात्रै नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने जनाएको छ । बढ्दो महँगी, कालाबजारी, सुकुम्बासीलाई विकल्पबिनै हटाउने कार्य, नागरिक अधिकारकर्मीमाथिको धरपकड तथा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा प्रभावकारी पहल गर्न पनि सरकारसँग माग गरेको छ ।