काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले आर्थिक, प्रशासनिक तथा क्रिकेट विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
कोसी प्रदेशको विराटनगरमा आइतबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको जनाएको छ।
साथै क्यान केन्द्रीय कार्यसमितिबाट प्रस्तुत सन् २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट पनि पारित गरिएको छ।
साधारण सभाले एसीसी र आईसीसीबाट थप कार्यक्रम प्राप्त भएमा आवश्यक समायोजनसहित कार्यक्रम र बजेट कार्यान्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ।
त्यस्तै, एनपीएल को पहिलो र दोस्रो संस्करणको आय–व्यय विवरण पनि सभाले पारित गरेको छ। एनपीएलबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले जनाएको छ।
जिल्ला संघहरूले सञ्चालन गर्ने कार्यक्रमको मूल्यांकनका आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
यसैबीच क्यानले यस वर्षदेखि हरेक डिसेम्बरमा क्यान वार्षिक अवार्ड घोषणा गर्ने निर्णय गरेको छ। उक्त अवार्डअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष/महिला), लाइफटाइम अचिभमेन्ट अवार्ड र मोमेन्ट अफ द इयर विधा समावेश गरिएको छ।
क्यानले यी निर्णयले नेपाली क्रिकेटको संस्थागत विकास, जिल्ला संरचनाको सुदृढीकरण तथा खेलाडी प्रोत्साहनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।