नेपालकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन चिनियाँ राजदुत खुलेरै लागेकी छिन् ।
२०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैभन्दा ठूलो र सबैभन्दा बढी मतसहित ठूलो संसदीय दल बनेर स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्ता संचालनको म्यान्डेट पाएको भए पनि नेकपाबीच निकै नै खटपट चलिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता टिकाउन चिनियाँ दूतावास निकै नै सक्रिय देखिएको छ । प्रायः नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मर्यादा नै नाघेर नेकपाको एकता टिकाउन सुरुआतदेखि नै प्रयास गर्दै आएकी छिन् ।
चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।
मंसिर ३ गते नेकपाको सचिवालय बैठक बस्नुअगावै बालुवाटारमा २ घन्टा प्रधानमन्त्रीसँग भेटघाट गरेकी राजदुत फेरी सक्रिय हुन थालेकी छिन् ।
सोमबार राजदुत यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगेर भेट गरेकी छिन् ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको बताइएतापनि सो नेकपा विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी समेत दिएका छन् ।
राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् । खतिवडाले केहीदिनअघि ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् ।