नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।
राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् । खतिवडाले बुधबार बिहान ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् ।
खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक विवादमा देखाएको चासोप्रति पनि आक्रोश पोखेका छन् । नेकपाका नेता नबन्न सुझाव दिँदै उनले भण्डारीलाई मर्यादामा बस्न आग्रह गरेका छन् ।
राजदूत यान्छी स्वयंले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेकी छिन् । त्यस्तै विभिन्न तहमा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु एवं व्यापारी तथा उपाध्यक्ष बामदेव गौतमसँग चिनियाँ दूतावासका प्रतिनिधिले भेट गरेका छन् । उच्च स्रोतका अनुसार यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८:१० देखि १०:१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी छिन् ।
चिनियाँ राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग बालुवाटारमा भेटेर नेकपाभित्रको विवाद मिलाउन अग्रसर भैरहेको बेला खतिवडाले राजदूत यान्छीलाई औकातमा बस्न घुमाउरो भाषामा चेतावनी दिएका हुन् ।
नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो ।
दोस्रो नेता रास्ट्रपति ।
अरु नेताकार्यकर्ता यिनैका आदेशमा चल्ने हुन जस्तो अहिलेको भेटघाट बाट बुझिदै छ।
भारतीय “र” प्रमुखले राती भेटेको समाचार पछि चीनको राजदुत पनि प्रम भेट्न् रातिनै जानुपर्ने ? pic.twitter.com/QwxXuig3xW— Ramhari Khatiwada (@RamhariKhatiwa) November 18, 2020
‘नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति’, ट्वीटमा खतिवडाले भनेका छन्, ‘अरु नेता कार्यकर्ता यिनैका आदेशमा चल्ने हुन् जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ ।’
‘भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले राति भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्री भेट्न् रातिनै जानुपर्ने ?’, कांग्रेस नेता खतिवडाले प्रश्न गरेका छन् ।