काठमाडौँ – देशका विभिन्न खोप केन्द्रहरूमा रेबिज र सर्पदंश विरुद्धको खोप लगायत नियमित खोपको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका तीन महत्वपूर्ण शाखा प्रमुखहरूलाई विशेष जिम्मेवारी तोक्दै खोपको अवस्थाबारे साप्ताहिक रूपमा अनिवार्य रिपोर्टिङ गर्न निर्देशन दिएको छ।
मन्त्रालयका महाशाखा प्रमुख डा. चुमन लाल दासले बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतम, जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेल र आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चेतन निधि वाग्लेलाई पत्र काट्दै नयाँ जिम्मेवारी तोकेका छन्। अब यी तीनै जनाले हरेक हप्ताको शुक्रबार मन्त्रालयमा खोपको खरिद, मौज्दात र वितरणको विस्तृत विवरण बुझाउनुपर्नेछ।
खोप केन्द्रहरूमा भ्याक्सिनको उपलब्धता सुनिश्चित गर्ने र कुनै पनि अवस्थामा आपूर्ति नरोकिने वातावरण बनाउन मन्त्रालयले यो व्यवस्था लागू गरेको हो। पछिल्लो समय केही जिल्लाहरूमा रेबिज र नियमित खोपको अभाव देखिएको गुनासो आएपछि मन्त्रालयले आपूर्ति प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन खोजेको छ।
