काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई मुलुकको प्रमुख राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका छन्। आइतबार सार्वजनिक भिडियो वक्तव्यमा उनले स्वास्थ्य क्षेत्रमा देखिएका जटिल समस्याको दीर्घकालीन समाधान स्वास्थ्य बीनामै आधारित रहेको बताएका हुन्।
कांग्रेस नेतृत्वमा सरकार गठन भए स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने उल्लेख गर्दै थापाले भने, “यो नेपाली कांग्रेसको स्पष्ट र मूल प्रतिबद्धता हो।” स्वास्थ्य मन्त्री रहँदा बीमा कार्यक्रमको सुरुवात गरिएको स्मरण गर्दै उनले उपचारकै क्रममा नागरिकको सम्पत्ति सकिने अवस्था अन्त्य गर्न यो योजना ल्याइएको बताए।
थापाका अनुसार, विश्व स्वास्थ्य संगठनको अवधारणाले नागरिकले आफ्नै खल्तीबाट कति खर्च गर्नुपर्छ भन्ने आधारमा राज्यको जिम्मेवारी मूल्यांकन गर्छ। “सामान्य अवस्थामा राज्यको योगदान कम्तीमा २० प्रतिशत हुनुपर्छ, तर हाम्रो अवस्थामा नागरिकले ५७ प्रतिशतसम्म खर्च बेहोर्नुपरेको छ,” उनले भने।
स्वास्थ्य बीमासम्बन्धी कानुन आफ्नै कार्यकालमा बनेको उल्लेख गर्दै उनले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बीमाशुल्क तिर्न नसक्नेको योगदान राज्यले व्यहोर्ने व्यवस्था गरिएको बताए। सबै नागरिकलाई बीमाको दायरामा ल्याएर छरिएका स्वास्थ्य कार्यक्रमलाई एउटै प्रणालीमा समेट्ने उद्देश्य रहेको उनको भनाइ थियो।
हाल स्वास्थ्य बीमा कार्यक्रम अव्यवस्थित बनेको स्वीकार गर्दै उनले यसलाई सुधार र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए। “यो कार्यक्रम कमजोर बन्दै गएको समाचार आइरहेका छन्, त्यसलाई सच्याउनै पर्छ,” उनले भने।
सभापति थापाले स्वास्थ्य बीमा सफल बनाउन सबै नेपाली नागरिक अनिवार्य रूपमा समेटिनुपर्ने बताए। सुरुमा औपचारिक क्षेत्रबाट कार्यक्रम विस्तार गर्दै रक्सी, चुरोटजस्ता वस्तुमा लगाइने करको रकम स्वास्थ्य बीमामा लगानी गर्ने योजना रहेको उनले जानकारी दिए।
त्यसैगरी संघ, प्रदेश र स्थानीय तहबीचको कार्यलाई प्रणालीगत रूपमा एकीकृत गर्ने, चुहावट रोक्न डिजिटल प्रणाली लागू गर्ने र दाबी प्रक्रिया पारदर्शी बनाउने योजनाबारे पनि उनले उल्लेख गरे।
पाँच वर्षे कार्यकालभित्र पहिला अव्यवस्था हटाइने, त्यसपछि बीमाको पहुँच विस्तार गरिने र अन्ततः बीमा गरेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था बनाइने उनले दाबी गरे।
“स्वास्थ्य दया होइन, सुरक्षा हो। यो नागरिकको संवैधानिक अधिकार हो,” थापाले भने, “यो अधिकार सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी माध्यम स्वास्थ्य बीमा कार्यक्रम नै हो।”