पोखरामा एक सञ्चारकर्मीसहित ११ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश निर्देशनालयको आज सार्वजनिक पछिल्लो जानकारीअनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घर भएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आएका छन् ।
पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । उक्त बैंक भएको भवनमा उनी कार्यरत एफएम छ ।
सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मीलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनीसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको बताइएको छ ।