काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् ।
उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन् ।
मङ्गलबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।
उनले भने, ‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु
। चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाइँका अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्याउन सक्दैन ।’