काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरवारमा बोलाएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार भए पनि विश्वासिलो वातावरण बन्न नसकेको बताए । उनले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गरे ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको बताए । उनले आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्ति सुरक्षाको जोखिम हुने आशंका व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गरे । उनका अनुसार सरकारको पहिलो दायित्व निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको हुँदा सबै राजनीतिक दलले त्यसमा सहयोग गर्नु पर्ने छ ।