नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठकमा राखिएका कुर्सीको विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रसंग उठाएका छन्।
मंगलबारको बैठकमा बरिष्ठ नेता नेपालले संसारकै शक्तिशाली मानिने चिनियाँ राष्ट्रपति सी आफ्ना सहकर्मीसँग बस्दा समान कुर्सीमा बस्ने गरेको बताए।
हामीकहाँ कहिले कस्ता कुर्सी हुन्छन्, कहिले कस्तो राखिन्छ।
अरूभन्दा आफू फरक हो भन्ने देखाउन कुर्सी र सोफाका रङ बदलिरहन्छन्,’ बरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने’, सीलाई कहिल्यै अलग्गै कुर्सीमा बसेको देख्नुभएको छ।
उनी त आफ्ना पार्टीका सहकर्मीसँग एउटै लाइनमा बसेका हुन्छन्।’
उत्तर कोरियाका शासक किम जोङ उनसमेत पार्टी बैठकमा बस्दा एउटै किसिमका कुर्सीमा समान तरिकाले बस्ने गरेको प्रसंग पनि उनले सुनाएका थिए।
‘माधवजीले कुर्सीको कुरा सधैँ उठाइरहने विषय हो। मंगलबार अलि धेरै कुरा उठाउनुभएको थियो। विश्वका कुन-कुन देशमा कस्तो गरिन्छ भन्नेसमेत भन्नुभएको थियो’, एक नेताले भने , ‘विदेशतिर गइरहने भएकाले उहाँले यस्ता उदाहरण पनि दिइरहनुहुन्छ।’
असार १० गतेको स्थायी समिति बैठकमा दुई अध्यक्षका लागि अलग्गै सोफा राखिएको थियो भने सचिवालय नेताहरूलाई मात्र अग्लो मञ्चमा राखिएको थियो।
असार १२ गतेको बैठकमा विरोध भएपछि सबैका लागि एकै किसिमको कुर्सी राखिएको थियो।
असार १६ गते बसेको बैठकमा भने हलको अलग्गै मञ्च हटाइएको थियो। एउटै फ्लोरमा दुई अध्यक्ष, बरिष्ठ नेता र उपाध्यक्ष पहिला बसेका थिए भने अन्य नेताहरु अगाडि बसेका थिए।